माइक्रोसफ्ट र एनभिडियाको सहकार्यमा एनभिडिया प्रोसेसरयुक्त पहिलो विन्डोज कम्प्युटर सार्वजनिक हुँदै

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनी एनभिडिया र प्रविधि क्षेत्रको अग्रणी संस्था माइक्रोसफ्टले आगामी हप्ता नयाँ विन्डोज कम्प्युटरहरू बजारमा ल्याउने तयारी गरेका छन्। विभिन्न व्यावसायिक स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ ले सार्वजनिक गरे अनुसार यी नयाँ कम्प्युटरहरूमा पहिलो पटक एनभिडियाको चिपलाई नै मुख्य प्रोसेसर (सीपीयु) को रूपमा प्रयोग गरिनेछ। एनभिडियाद्वारा सञ्चालित यी कम्प्युटरहरू माइक्रोसफ्टको आफ्नै ‘सर्फेस’ ब्रान्डका साथै डेल जस्ता अन्य स्थापित पीसी उत्पादक कम्पनीहरूबाट बजारमा उपलब्ध हुनेछन्। एनभिडियाले माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टम चलाउनका लागि ‘आर्म’ प्रविधिमा आधारित प्रोसेसर निर्माण गर्ने योजना सन् २०२३ देखि नै बनाउँदै आएको थियो। हाल विन्डोज ल्यापटपका लागि क्वालकमले आर्म-आधारित प्रोसेसर आपूर्ति गरिरहेको छ भने परम्परागत कम्प्युटर बजारमा इन्टेल र एएमडीको वर्चस्व रहँदै आएको छ। लामो समयदेखि ब्याट्री क्षमता बलियो भएका र कम ऊर्जा खपत गर्ने चिपहरूमा सिफ्ट हुने प्रयास गरिरहेको माइक्रोसफ्टका लागि यो साझेदारी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। यस क्षेत्रमा उसको मुख्य प्रतिस्पर्धी एप्पल निकै अगाडि देखिन्छ । जसले आफ्नै आन्तरिक चिपसेट प्रयोग गरेर यसै वर्षको मार्च महिनामा नवीनतम ‘एम५-सिरिज’ चिप भएका नयाँ म्याकबुकहरू बजारमा ल्याइसकेको छ। एप्पलको सोही ब्याट्री र कार्यक्षमताको अग्रतालाई टक्कर दिन माइक्रोसफ्टले एनभिडियासँग यो बलियो सहकार्य अघि बढाएको हो। यी नयाँ कम्प्युटरहरू ताइवानमा आयोजना हुने ‘कम्प्युटिक्स’ ट्रेड शो र स्यान फ्रान्सिस्कोको माइक्रोसफ्ट ‘बिल्ड’ डेभलपर कन्फरेन्समा औपचारिक रूपमा अनावरण गरिनेछन्। विन्डोज, एनभिडिया र आर्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरूले ताइवानको राजधानी ताइपेईको लोकेसनसहित ‘पीसीको नयाँ युग’ को घोषणा गर्दै यसको सङ्केत दिइसकेका छन्। यसका साथै, माइक्रोसफ्टले यी कम्प्युटरहरूमा इन्टरनेट वा क्लडको सहायता बिना जटिल कार्यहरू गर्न सक्ने अत्याधुनिक एआई एजेन्ट सफ्टवेयर पनि पहिलो पटक समावेश गर्ने अपेक्षा गरिएको छ।