नेपाल थारू संघको महाधिवेशनमा कांग्रेस संस्थापन इतर समूहका नेताहरू अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू नेपाल थारू संघ प्रथम महाधिवेशनमा अनुपस्थित भएका छन् । अध्यक्ष शिवनारायण महतो गुरौले आमन्त्रण गरे पनि इतर समूहका नेताहरू सानेपामा सुरू भएको महाधिवेशनमा अनुपस्थित भएका हुन् ।

अध्यक्ष महतोले इतर समूहका नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायतलाई आमन्त्रण गरेको जानकारी दिए । उनका अनुसार निवर्तमान कार्यावाहक सभापति खड्काले महाधिवेशनमा उपस्थित हुन नसकिने जवाफ दिएका थिए । अर्का नेता कोइरालासँग भने आफूले निमन्त्रणा दिनका लागि भेटको समय नै नपाएको महतोको भनाइ छ । उनले अरू व्यक्तिमार्फत कोइरालालाई निमन्त्रणा पत्र पठाइएको बताए । सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा थारू संघको प्रथम महाधिवेशन सुरू भएको छ । थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ । यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको मान्यता पाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवाले महतोको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । उनले विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका थिए । प्रथम महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति चयन गर्ने छ । निर्वाचन समितिले महाधिवेशनमा ७८३ जना प्रतिनिधिहरूको सहभागिता रहने छ ।