
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राहीहरू उत्साहित बनेका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ब्यानर वाचन गरेर उद्धाटन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सेवा कार्यालयको शुभारम्भ गरिएको हो । शुभारम्भकै अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रालीका सञ्चालक राजन आचार्य लाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ र नगर उपप्रमुख मिश्रा आचार्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक सुरुवात गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताए । उनले अब नागरिकले सामान्य करसम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिए । उनले भने, ‘स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई सहज सेवा उपलब्ध गराउनु हो, त्यसैअनुसार हामीले कर सेवा पनि नगरपालिकाबाटै सुरु गरेका हौं ।’ प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कर सेवा अब प्रविधिमार्फत अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने बताएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाग्राहीका दरबन्दी सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयबाट प्रदान हुने आयकर सेवा सम्बन्धित स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ ।यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राहीहरूलाई कपिलबस्तुको कृष्णनगर सम्म पुग्नुपर्ने बाध्यता थियो । कर चुक्ता प्रमाणपत्र लिनेदेखि अन्य प्रशासनिक प्रक्रियाका लागि समय, श्रम र आर्थिक खर्च व्यहोर्नुपर्दा स्थानीय व्यवसायी तथा सर्वसाधारण हैरान हुने गरेका थिए । अब भने आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध हुन थालेपछि ठूलो राहत हुनेछ । नगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कर सेवा कार्यालयले व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास गरिएको छ । कर सेवा अब स्थानीय तहबाटै सञ्चालन भएपछि नागरिकमैत्री शासन व्यवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।



