१६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन पहल हुँदैछ : श्रममन्त्री यादव

काठमाडौं र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम सम्झौताका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धीत देशबाट जवाफ आउन ढिलाई भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका हुन् । उनले अहिले १३ देशसंगमात्रै द्विपक्षीय श्रम सम्झौता भएपनि १७८ देशमा नेपाली श्रमिकहरु रहेको उल्लेख गरे । मन्त्री यादवले वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जानकारी गराए । श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको उनले बताए । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिकहरु गैरकानूनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केहि गर्न नसकेको उल्लेख गरे । पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकहरुको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट उनले पारे । मन्त्री यादवले स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नका लागि मन्त्रालय योजनाका साथ अघि बढिरहेको धारणा राखे । बैठकमा समिति सदस्यहरुले बैदेशीक रोजगारमा जाने नेपालीहरुलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका थिए । बैठकमा समिति सभापति रहबर अन्सारीले मन्त्री यादवलाई समितिको यसअघिको निर्देशन तथा सुझावहरू हस्तान्तरण गरेका थिए ।