
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको फैसला अध्ययन समितिले ११ वर्षदेखिका फैसलाहरू पठाइदिन आह्वान गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले १३ भदौ २०८२ मा सर्वोच्च अदालतले गरेका फैसलाहरुको अध्ययन गर्न वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले १ वैशाख, २०७२ देखि चैत मसान्त, २०८२ सम्मका प्रकाशित तथा अप्रकाशित महत्वपूर्ण फैसलाहरु उपलब्ध गराउन कानुन व्यवसायीहरुलाई अनुरोध गरेको हो । अध्ययन समितिले फैसला अध्ययन गरी तयार पार्ने प्रतिवेदन सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाउनेछ । वरिष्ठ अधिवक्ता घिमिरेको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सह–संयोजक छन् । समितिमा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् भने निर्मल प्रसाद उपाध्याय सदस्य सचिव छन् । सर्वोच्च अदालतले गर्ने फैसलाबारे पटकपटक प्रश्न उठ्नुका साथै कतिपय अवस्थामा आलोचना समेत हुने गरेको छ। त्यस्तो बेलामा फैसला अध्ययन गर्ने समिति बनाउने घोषणा गर्ने कानुन व्यवसायीहरुले त्यसको कार्यान्वयन गर्न सकेका थिएनन् ।



