यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण

काठमाडौं । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको परिवर्तनका कारण यस वर्ष मनसुन कमजोर हुने आकलन गरिएको हो । यद्यपि नेपालका कुनैकुनै भागमा भने बढी वर्षा हुने अनुमान छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ । बर्खायाम वा मनसुनले बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्दछ । साथै बाढीपहिरोका कारण धनजनको क्षति समेत हुने गरेकाले मनसुनप्रति धेरैको चासो हुने गर्दछ । त्यसैले दक्षिण एसियाका देशहरूको ऋतुगत मौसम पूर्वानुमान नेपालसमेत सहभागी दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले हरेक वर्ष सार्वजनिक गर्दछ । मञ्चको निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले पनि हरेक वर्ष सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिने गर्दछ । विभागले आगामी शुक्रबार सबै सरोकारवालालाई भेला गरेर यस वर्षको मनसुनी अवस्थाबारे जानकारी दिने कार्यक्रम राखेको छ ।