
जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् । बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् । जनकपुरधाममा गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको २०६२ सालमा गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले सुकुमवासीलाई व्यवस्थापन नगरिकन डोजर आतंक नमच्चाउन सरकारसँग माग समेत गरेका छन् ।



