भारी वर्षापछि बीपी राजमार्ग अवरुद्ध, विभिन्न ठाउँका डाइभर्सन बगे

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण उच्च जोखिम बढेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएको र लेदो (माटो–पहिरो) खस्दा सवारी साधन बीच बाटोमै होल्ड गरिएको प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड तथा सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानका डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार रोशी खोलाले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा माम्तीमा अस्थायी डाइभर्सन बगाएको छ । सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा डाइभर्सन बगाएको छ । अत्यधिक वर्षा भइरहेकाले रातिको समयमा थप जोखिम हुनसक्ने भएका कारण सवारी होल्ड गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले राजमार्गका डाइभर्सन बगेको, विभिन्न ठाउँमा पहिरो जान सक्ने, ढुंगा खस्ने जोखिम बढेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए । हाल काभ्रेको मंगलटार, भकुन्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपाल थोक र खुर्कोटमा सयौं सवारी साधन होल्ड राखिएका छन् ।