![]()
वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा सोमबार दिउँसो तीन सवारी आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किएका थिए। त्यसपछि ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।उनका अनुसार बस चालक साइडको टायर पड्किँदा मालवाहक ट्रकसँग ठोक्किन पुगेको हो। ठक्करपछि अनियन्त्रित बनेको ट्रकले ट्याङ्करमा ठक्कर दिएको उनले बताए।दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।हाल घटनास्थलबाट सवारी साधन हटाउने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


