
काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले साढे ४६ लाख रुपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको इ–रिक्सामा लोड गरी राखेको बील बिजक समेत नभएको आठ वटा सञ्चार उपकरण सशस्त्र प्रहरीले बरामद गरेको हो ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । दुरसंचारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको ल्याएको हो भन्ने केही खुलेको छैन । बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।



