वीरगञ्जमा पानीको सङ्कट समाधान गर्न भेडाहा खोलामा सञ्चय केन्द्र निर्माण गर्ने महानगरको योजना

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले खानेपानी अभाव झेलिरहेका वडाहरूमा पानी आपूर्ति सुनिश्चित गर्न भेडाहा खोलामा पानीको भण्डारण केन्द्र निर्माण गर्ने तयारी थालेको छ । भण्डारण केन्द्र निर्माण प्रयोजनका लागि महानगरले अध्ययन कार्य अघि बढाउँदै बिहीबार बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा अवस्थित खानेपानी परियोजना अवलोकन गरेको छ । अमलेखगञ्जमा चार दशकअघि पानी अभावको समाधानका लागि तत्कालीन सरकारले ८ लाख लिटर क्षमताको पानी टङ्की निर्माण गरेको थियो । त्यसपछि राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा २०६५ सालमा २४ लाख लिटर क्षमताको खानेपानी टङ्की थपिएको थियो । हाल योजनाबाट ८८७ घरधुरीले पिउने पानीको नियमित सुविधा पाइरहेका छन् । कर्मकुमारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरका अनुसार चार नम्बर पुलअन्तर्गत २४ मिटर लामो, २ मिटर चौडाइ र अढाई मिटर गहिराइ भएको पक्की पैनी (सञ्चय केन्द्र) निर्माण गरी त्यहाँबाट अमलेखगञ्जसम्म पाइपमार्फत पानी आपूर्ति गरिएको हो । उनले योजना नेपालकै दोस्रो सबैभन्दा पुरानो खानेपानी योजना भएको दाबी गरे । महानगर प्रमुख राजेशमान सिंहका अनुसार भेडाहा खोलामा पनि यसै किसिमको पानी सञ्चय प्रणाली विकास गरी महानगरका समस्याग्रस्त वडाहरूमा पिउने पानीको अभाव हटाउने योजना छ । यद्यपि, लागत केही उच्च पर्ने भए पनि अध्ययन प्रारम्भ भइसकेको उनले जानकारी दिए । उनले पानीको दीर्घकालीन स्रोत सुनिश्चित गर्न तीन तहको सरकार र चुरे तराई–मधेस संरक्षण विकास समितिको सहकार्यमा पोखरी निर्माण गरी भूगर्भीय जलस्तर वृद्धि गर्ने र चापाकल तथा अन्य साधनबाट पानीको सहज आपूर्ति गराउने लक्ष्य लिइएको बताए । संरक्षण विकास समितिका प्रतिनिधि डा. अनिल कुमार सिन्हाले अमलेखगञ्जमा प्रयोग गरिएको मोडेल वीरगञ्जमा पनि कार्यान्वयन गर्न सकिने सुझाव दिएका छन् । यसै सन्दर्भमा सिंह नेतृत्वको टोलीले पर्सा जिल्लाको भेडाहा खोलाको समेत स्थलगत अवलोकन गरेको छ । महानगरले खानेपानीको दीर्घकालीन समाधान खोज्न थालेसँगै वीरगञ्जवासीमा केही आशा पलाएको देखिएको छ । यदि अमलेखगञ्जको मोडेल प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा वीरगञ्जमा दशकौँदेखिको पानीको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।