कम तौल र मिश्रणयुक्त सुनका गहना बेचबिखनप्रति चिन्ता, ठगी धन्दाबाट सचेत रहन आग्रह

वीरगञ्ज । नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले पछिल्लो समय नेपाली बजारमा चाँदीमा सुन मिश्रण गरी गहना निर्माण गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संघका कार्यबाहक सचिव अभिषेक शाक्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यस्ता गतिविधिले सुन व्यवसायप्रति आम उपभोक्ताको विश्वास गुम्ने खतरा बढेको उल्लेख गरिएको छ। संघका अनुसार भारतबाट वैध वा अवैध रूपमा आयात गरिएका कम तौलका, आकर्षक देखिने तर मिश्रणयुक्त गहनाहरूलाई सस्तो मूल्यमा प्रचार गर्दै ग्यारेन्टी दिने जस्ता कार्यले उपभोक्ता र व्यवसायी दुवैलाई भ्रममा पार्ने कार्य भइरहेको छ। “कम तौलका र मिश्रणयुक्त गहनाहरूको बढ्दो चलनले वास्तविक सुनबाट गहना निर्माण गर्ने कालिगढहरूको पेशा धराशायी बन्दै गएको छ।” यो प्रवृत्तिले सुन व्यवसायको समग्र विश्वसनीयता र दीर्घकालीन भविष्यमा प्रश्न चिन्ह खडा गरिदिएको संघको ठम्याइ छ। संघले यस्ता मिश्रणयुक्त गहना धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेमा आगामी दिनमा धितो कारोबारमा समस्या उत्पन्न हुने, साथै ठगी धन्दा मौलाउने चेतावनीसमेत दिएको छ। यसले वित्तीय प्रणालीमा गम्भीर असर पार्ने र सुनचाँदी पेशा बदनाम हुने सम्भावना रहेको जनाइएको छ। संघले व्यवसायी, कालिगढ, उपभोक्ता र सम्पूर्ण सरोकारवालालाई यस्तो अवैध तथा भ्रामक कारोबार नगर्न, नगराउन आह्वान गर्दै भनेको छ -“सस्तो लोकप्रियता र आकर्षणका नाममा हुने ठगी धन्दा निरुत्साहित गर्न हामी सबै एक हुन जरुरी छ।”प्रेस विज्ञप्तिमा व्यवसायको मर्यादा जोगाउन र कालिगढहरूको अस्तित्व सुरक्षित राख्नका लागि गहना निर्माण, बिक्री तथा वितरणमा पूर्ण पारदर्शिता र इमानदारी अपनाउन जोड दिइएको छ।