मधेस र लुम्बिनी बाहेक नेपालभर भारी वर्षाको सम्भावना

वीरगञ्ज । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो र राति देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मधेस र लुम्बिनी प्रदेशबाहेकका अन्य प्रदेशमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको हो । महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । यस्तै, मधेस र लुम्बिनी प्रदेशमा भने थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने अनुमान गरिएको छ । रातिको समयमा देशभर सामान्यतया बदली रहने र कोशी, सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्क रहन र आवश्यक सावधानी अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।