
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हाले यताको ६ महिनाको अवधिमा पर्सा प्रहरीले मानव बेचबिखन जोखिममा परेका किशोरी, युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गरेको छ । एसपी मिश्रले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मा गत पुस २३ गतेदेखि सम्हालेका थिए । गैरकानूनी रूपमा यौनधन्दमा लगाइएका वीरगञ्जमा रहेका होटेल, रेस्टुरेन्ट तथा लजहरूमा छापा मारेर तथा वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा कडाइ गर्ने क्रममा उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बेचबिखन जोखिममा परेका किशोरी, युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाएर पठाइएको एसपी मिश्रले बताए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनका १२ वटा मुद्दा दर्ता गरेर १३ जनालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागारमा पठाएको पनि गरेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।



