
सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत सिरहाको बरियारपट्टीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। २४ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा प्रदान गरिएको थियो। शिविरमा नाक, कान, घाँटी, आँखा, प्रसूति तथा स्त्री रोग, सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, दन्त स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। साथै, निःशुल्क औषधि वितरण पनि गरिएको थियो। जनता माध्यमिक विद्यालय, बरियारपट्टी–३ को परिसरमा सम्पन्न शिविरको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्नुभयो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकाल, जिल्ला समन्वय समिति सिरहाका प्रमुख, बरियारपट्टी तथा औरही गाउँपालिकाका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। स्वास्थ्य मन्त्री सिंहले सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीच सहकार्य मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। संघकी अध्यक्ष संगीता सुवेदीले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबै निकायलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। शिविरमा बरियारपट्टी गाउँपालिकाका ५२२ जना स्थानीयले सेवा लिएका थिए। यस्तै, सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष सुवेदीले सप्तरीको शम्भुनाथस्थित नेपाल ए.पि.एफ. ठाकोदेवी जोगेन्द्र भगत स्कुलमा आयोजित कार्यक्रममार्फत छात्रहरूका लागि खेलकुद सामग्री हस्तान्तरण समेत गर्नुभएको थियो। कार्यक्रमले समुदायसँगको सहकार्यलाई मजबुत पार्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याएको आयोजकले जनाएको छ।



