
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूबाट प्रतिनिधित्व गर्दै सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिम समापन समारोह वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा न्यायिक समितिका सदस्य सर्जु महतो, बैजु स्वर्णकारलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप–प्रमुख आलमले न्यायिक समितिले हालसम्म मेलमिलापमार्फत समाधान गरिएका मुद्दाहरूको बारेमा जानकारी गराउँदै मेलमिलाप नै दीगो समाधानको आधार भएको स्पष्ट पार्नुभयो। उहाँले भने, “हामीको प्रयास भनेको जनताबीच उत्पन्न विवादहरूलाई अदालतसम्म नपु¥याई मेलमिलापमार्फत समाधान गर्नु हो।” सो अवसरमा तालिममा सहभागी महिलाहरू र पुरुषहरूको सक्रिय उपस्थिति प्रशंसनीय रहेको उल्लेख गर्दै उप–प्रमुख आलमले सहभागीलाइ प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रमको विस्तृत जानकारी उप–प्रमुख आलमका प्रेस सल्लाहकार मोहम्मद सदाबले दिनुभएको हो। तालिमले स्थानीय तहमा वैकल्पिक विवाद समाधान प्रणालीप्रति जनचेतना अभिवृद्धि गर्न र मेलमिलापद्वारा विवाद समाधानमा संलग्न व्यक्तिहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखेको थियो।



