
वीरगञ्ज । सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा वीरगञ्ज महानगरपालिकाले कारवाहीस्वरुप सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर फयाँकी दिएको छ । नदीमा फोहोर नफाल्न पटकपटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि आइतबार बिहानै वीरगञ्ज महानगरपालिकाले तीनवटा उद्योगमा कचरासहितको फोहोर टयाक्टरमा लगेर उद्योगको गेटभित्रै थुपारी दिएको हो । मेयर राजेशमान सिंहको निर्देशनमा आइतबार वीरगञ्ज – २१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा गरी ९ टयाक्टर कचरासहितको फोहोर लगेर थुपारिदिएको वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।


