
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बुधबार नियमित स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको जानकारी दिए ।त्रिवि शिक्षण अस्पतालका अनुसार राष्ट्रपति पौडेल अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए । मनमोहन कार्डियो भास्कुलर सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेलले राष्ट्रपति पौडेल नियमित फलोअपमा आएको जानकारी दिए । ‘यसअघि उहाँको मुटुमा पेसमेकर राखिएको थियो । त्यसको नियमित जाँच गर्न पुग्नुभएको हो,’ उनले भने, ‘यहाँ उहाँको ईसीजी र ईको परीक्षण गरिएको छ ।’ परीक्षणबाट राष्ट्रपति पौडेलका स्वास्थ्य सामान्य पाइएको गजुरेलले जानकारी दिए । उनले भने, ‘परीक्षणको नतिजा राम्रो आएको छ । खास्सै समस्या देखिएन ।’ स्वास्थ्य जाँचपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्किसकेका छन् ।



