
काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त आईजीपी डा. मनोज केसीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीबीच बहस हुनेछ । सर्वोच्चले बुधबार भने अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षको छलफल पछिमात्रै अन्तरिम आदेशबारे निर्णय लिनका लागि छलफलमा डाकेको हो । मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट हटाएर केसीलाई नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।



