नुवाकोट । भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई अहिले ‘विषाक्त’ घरेलु मदिराको जोखिम थपिएको छ । विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ । विदुर नगरपालिका–५ स्थित बाडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार डाँडागाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । यही बस्ती र आसपासका क्षेत्रमा विषाक्त घरेलु मदिरा छ्याप्छ्याप्ती पाइएपछि प्रहरीले केही दिनयता कडाइ गरेको हो । नुवाकोट प्रहरीले एकैपटक करिब एक हजार लिटर अवैध मदिरा बरामद गरेको जनाएको छ । विस्थापित बस्तीलाई लक्षित गरी उत्पादन तथा बिक्री भइरहेको अवस्थामा मदिरा जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । ‘बरामद गरिएको मदिरा अत्यन्तै विषाक्त भेटिएको छ,’ उनले भने, ‘स्वास्थ्यदेखि हरेक हिसाबले संवेदनशील यस्तो बस्तीका नागरिकलाई व्यावसायिक रूपमा लक्षित गरी अवैध तरिकाले उत्पादन र बिक्री भइरहेको पाइएपछि प्रहरीले जफत गरेको हो ।’ प्रहरीका अनुसार बरामद मदिरा उत्पादनमा युरिया मल, चप्पल–जुत्ता, मरेका जीवजन्तुका कुहिएका सिनो तथा अन्य अखाद्य वस्तु प्रयोग गरिएको पाइएको छ । बरामद मदिरालाई आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रवक्ता हवारीले बताए ।यस्तो मदिराको बिक्रीवितरण र सेवनले बस्तीमा विकृति बढ्नुका साथै आपराधिक घटना निम्तिन सक्ने र सेवनकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ ।
२०८३ कार्तिक २, आईतवार १२:२३




