कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दु:ख ज्युँका त्युँ

जनकपुरधाम । गत २ असोजमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल निर्माण अन्तिम चरणमा पुगेको सार्वजनिक गरे । १५ वर्षदेखि रुग्ण योजनाका रूपमा रहेको यो पुल निर्माणको कामले गति लिएकाले अबको दुई महिनाभित्रै सञ्चालनमा आउने उनको दाबी थियो । ‘…अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो,’ उनले लेखेका थिए । मन्त्री लम्सालले दिएको उक्त जानकारी पोस्ट प्रधानमन्त्री बालेन शाहले समेत सेयर गरेका थिए । मन्त्री लम्सालको दाबीलाई आधार मान्ने हो भने आबको कात्तिक मसान्तभित्र कमला पुल बनेर सञ्चालनमा आइसक्नुपर्ने हो । उनकै भनाइअनुसार दुई महिना घर्किन अब मात्र २० दिन बाँकी छ । तर पुल निर्माणस्थलको स्थिति भने फरक छ ।