
बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि मेलाको साइनबोर्ड र लोगो अनावरण तथा मेला सम्पन्न गर्न गठित २९ वटा उपसमिति संयोजकको नामावली सार्वजनिक गरिएको छ । मेला आयोजक संघका अध्यक्ष लोकनाथ पन्थीले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, स्टल धनी व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारीलाई अघि बढाइएको बताए । स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शनी र बिक्रीलाई प्राथमिकता दिएको मेलाले औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धन, स्वदेशी उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तार गर्न टेवा पुर्याउने अध्यक्ष पन्थीले बताए । ‘मेलाले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै बुटवल र रुपन्देहीको औद्योगिक तथा व्यावसायिक वातावरण थप सुदृढ बनाउन भूमिका खेल्नेछ’–अध्यक्ष पन्थीले भने–‘मेलामार्फत स्वदेशी उत्पादनको बजारीकरण र स्वदेशी वस्तुको उपभोग प्रवर्द्धन हुने छ ।’ त्यसैगरी आयातलाई निरुत्साहित गर्दै निर्यात प्रवर्द्धन गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यसमेत मेलाले लिएको अध्यक्ष पन्थीले बताए । मेलामा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउनुका साथै उद्योग, कृषि, पर्यटन तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित विभिन्न सेमिनार, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने पन्थीले बताए । स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, कृषक, लगानीकर्ता तथा उपभोक्ताको सहभागिताले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ । मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका काम अघि बढाइएको अध्यक्ष पन्थीले जानकारी दिए । मेला समग्र रुपन्देहीवासीको साझा कार्यक्रम भएकाले सबैको साथ, सहयोग तथा रचनात्मक सल्लाह–सुझावको अपेक्षा गरिएको उनले बताए । मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने संघका वरिष्ठ उपाध्यक्ष एवं स्टल दर्ता उपसमिति संयोजक पदम जीसीले बताए ।स्वदेशी उत्पादन, स्थानीय र महिला उद्यमीका स्टललाई प्राथमिकता दिइने मेलामा हालसम्म करिब एक सय वटा स्टल बुकिङ भइसकेका जीसीले बताए । मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन् । चार पांग्रे विद्युतीय गाडीदेखि कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा,बैंक तथा निर्माण सामग्रीसम्मका उत्पादन र सेवाका स्टललाई मेलामा समेटिएको उनले बताए । जीसीका अनुसार मेलामा अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय स्टल, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक तथा गार्मेन्ट, वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, गिफ्ट तथा खेलौना र जुत्ता–चप्पलका पेभेलियन रहनेछन् । त्यसैगरी आईटी तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शैक्षिक संस्था, जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन, जडीबुटी, घरजग्गा तथा निर्माण सामग्री, फर्निचर तथा फर्निसिङ तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलाद्वारा उत्पादित वस्तुहरूका उत्पादनलाई समेत मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।मेलामा लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन गोष्ठी,उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा कृषि पेशालाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिने संघका महासचिव विजय आचार्यले बताए ।मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अवसरको खोजी, पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा युवा उद्यमसम्बन्धी अन्तरक्रिया समेत आयोजना गरिने महासचिव आचार्यले बताए । मेलाका आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् । मेलामै योग शिविर, रक्तदान, साँझ भजन–कीर्तन तथा आरती, शिव ताण्डव प्रदर्शन, फिस टनेल र जलपरी र टिकटक प्रतियोगितासमेत मेलाका आकर्षणका रूपमा रहने आचार्यले जानकारी दिए । १४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको गर्ने लक्ष्य राखिएको संघका कोषाध्यक्ष दिलीप शर्माले जानकारी दिए ।



