
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् । उनले सञ्जालमार्फत निरन्तर भारतीय टोलीसहितको समन्वयनमा उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् । राजदूत श्रीवास्तवका अनुसार, नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्नका लागि आवश्यक सुरक्षा डोरीको कनेक्सन बनाइएको बताएका छन् । ‘सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटर समेत घटनास्थलमा ल्याइएको छ,’ उनले भनेका छन् । यसैबीच, उद्धार कार्यलाई सहज बनाउन आवश्यक सडक निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी गराएका छन् ।



