रसुवा बाढी : गृहमन्त्रीलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका सबै साधन परिचालन गर्ने अधिकार दिएको छ । आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले यस्तो अधिकार दिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रसुवा बाढीका कारण घाइते भएका र बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गर्ने र सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस कामको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने निर्णयल भएको छ । ‘माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टरसहित परिचालन गर्न निर्देशन दिने’ निर्णय भएको मन्त्री खनालले संसद्लाई जानकारी दिएका हुन् । उनका अनुसार घर÷निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थनमा राखेर खाने र बस्ने व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय भएको छ । साथै, खानेपानीको उपलब्धता र विद्युतको उपलब्धता, संचार सम्बन्ध स्थापित गर्ने निर्णय भएको छ ।