
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास भरी सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ । ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायरकोमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् । एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको गुनासो उपभोक्ताबाट व्यापक आउन थालेको छ । यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । तर, अहिले फेरि पूरै भरिएको सिलिन्डर बाँड्न थालेपछि एक्कासि ग्यासको माग बढेर अभाव सिर्जना भएको डिलर सञ्चालकहरूको भनाइ छ । एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामिनसक्नु भिड छ भने अर्कातिर आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी बारम्बार गर्दै आइरहेको छ ।



