
काठमाडौं । भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्। आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुग्यो, त्यहाँसम्म जीवित व्यक्तिहरू फेला पार्न सकेनौं’ उनले भने । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।भारतीय टोली आएपछि बल्ल आयोजनाको सुरुङमा आइतबार उद्धार अभियान थालिएको थियो । भारतीय टोलीले हेलिकप्टरमार्फत शनिबार नै चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) गरेको थियो । भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरेर अत्याधुनिक उपकरणको सहयोगमा सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने कार्य आज बिहान सुरु गरेको थियो ।



