उर्जामन्त्री श्रेष्ठले थपे तीन जना सल्लाहकार

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नै उनले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिसकेका थिए । नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् । मन्त्रालयका अनुसारसल्लाहकारहरूले सम्बन्धित क्षेत्रको नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायत विषयमा मन्त्रीलाई आवश्यक सुझाव र परामर्श दिनेछन् । मन्त्रालयले सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ ।