एमाले पुनर्गठन अभियानले महासचिव पोखरेललाई बुझायो सर्वेक्षण प्रतिवेदन

 काठमाडौं । नेकपा एमाले पुनर्गठन अभियानले डिजिटल सर्वेक्षण प्रतिवेदन महासचिव शंकर पोखरेललाई बुझाएको छ । पार्टी पुनर्गठन अभियानका तर्फबाट गजेन्द्र थपलिया, रमेश पौडेल लगायतले महासचिव पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । गत १३–२२ असारसम्म पार्टी पुनर्गठनबारे खुला डिजिटल सर्वेक्षण गरिएको थियो ।‘पार्टीका नेता कार्यकर्ता, सदस्य तथा शुभेच्छुकदेखि अन्य पार्टीका सदस्यहरूले समेत फारम भर्नेगरी डिजिटल सर्वेक्षण गरिएको हो,’ थपलियाले भने । विदेशबाट समेत मत सर्वेक्षणमा भाग लिएको उनले बताए । यो सर्वेक्षणमा भाग लिनेहरूको संख्या खुलाएको छैन । तर, सर्वेक्षणमा आएको नतिजा प्रतिवेदन महासचिव पोखरेललाई बुझाइएको छ । प्रतिवेदन अनुसार ९१.४ प्रतिशत सहभागीले पार्टी रूपान्तरणको पक्षमा मत दिएका छन् । हालकै स्थितिमा एमाले अगाडि बढ्छ भन्नेमा ७.४ प्रतिशत र बाँकीले केही भन्न नचाहेको प्रतिवेदन तयार पारिएको अभियानमा संलग्न नेताहरूले बताएका छन् । नेतृत्व परिवर्तन, संगठनात्मक सुधार, युवा सहभागिता वृद्धि जस्ता पार्टी पुनर्गठनको पक्षमा पनि ९० प्रतिशत बढीले मत जाहेर गरेको दाबी गरिएको छ ।