
रौतहट, जेठ २७ । रौतहट जिल्लामा वन संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा अवैध गतिविधि न्यूनीकरणमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको नेतृत्व प्रभावकारी देखिएको सरोकारवालाहरू बताउँछन्। जिम्मेवारी सम्हालेपछि साहले वन संरक्षणलाई प्राथमिकतामा राख्दै कार्यालयको कार्यसम्पादनलाई थप सक्रिय र परिणाममुखी बनाएका छन्। नियमित अनुगमन, वन क्षेत्रको निरीक्षण तथा फिल्डमै पुगेर समस्या समाधान गर्ने उनको कार्यशैलीका कारण वन संरक्षण अभियानले गति लिएको बताइन्छ। उनकै नेतृत्वमा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपण, वन पुनर्स्थापना तथा वन पैदावार चोरी निकासी नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएका छन्। नियमित गस्ती र निगरानीका कारण अवैध कटानी तथा तस्करीका घटनामा कमी आएको वन कार्यालयको दाबी छ। साहले सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजसँगको सहकार्यलाई समेत मजबुत बनाएका छन्। यसले वन संरक्षण अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न सहयोग पुगेको छ। स्थानीयवासीहरूका अनुसार निष्पक्ष, इमानदार र कानुनसम्मत कार्यशैलीका कारण वन अधिकृत साहप्रति विश्वास बढेको छ। वन क्षेत्रको दीगो संरक्षण, वातावरणीय सन्तुलन र प्राकृतिक सम्पदाको सुरक्षा गर्न उनले देखाएको सक्रियता रौतहटका लागि उदाहरणीय बनेको स्थानीयहरूको भनाइ छ।



