बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  नीति तथा कार्यक्रम र बजेट ल्याउँदा गरिबलाई गरिखाने वातावरण बनाउने बताएका छन् । सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र आएकाले सबैलाई गरिखाने वातावरण बनाइने बताए । मुख्यमन्त्री बानियाँले बजेट कुनै एक दलको नभई सबै राजनीति दलको साझा नीति, कार्यक्रम र बजेट आउने पनि बताए । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीसम्बन्धी गौरवका आयोजनालाई आगामी वर्षमा प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री बानियाँले सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस चालिने पनि बताए । ‘प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध छ,’ उनले भने, ‘संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ ।’ संघीय सांसदहरूका स्वकीय सचिवको सुविधा कटौती नहुने, तर प्रदेशसभाका सांसदका स्वकीय सचिवको सुविधा कटौती गरिएकामा उनले असन्तुष्टि व्यक्त गरे । बैठकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । प्रदेशसभाको सभामुख रिक्त भएको लामो समयसम्म चयन हुन नसकेकामा पनि उनले आक्रोश व्यक्त गरे । प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकार, प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आ–आफ्नो धारणा राखेका थिए ।