
काठमाडौं । ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ बाट निर्वाचन आयुक्त सगुन शमसेर जबरा सम्माानित भएका छन् । भूतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरू मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दै आएको छ । उनलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन् । ३० वर्ष नेपाली सेनामा योगदान गरेका जबरा महासेनानी दर्जाबाट अवकास भएका थिए । जबराले आफ्नो सेवाकालमा तथा सेवा निवृत्तपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पुर्याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भूमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको नेपाली सेनाले जनाएको छ । यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



