कालीगण्डकी किनारमा भेटिएको कंकालको अझै खुलेन पहिचान

गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ अन्तर्गत कालीगण्डकी नदी किनारमा १० दिन अघि फेला परेको मानव कंकालको पहिचान अझै खुल्न सकेको छैन । गत २६ माघमा घुमाउने भन्ने स्थानमा ढुंगाको कपेरोमा मानव कंकाल देखिएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मी का प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए । घटनास्थल नजिकै छिमेकी जिल्ला बाग्लुङ, पर्वत र स्याङजा पर्ने भएकाले पहिचान गर्न थप कठिनाइ भएको बताइएको छ । छिमेकी जिल्लाहरूमा पनि कंकाल पहिचानका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।