
दमक । झापा जिल्ला क्षेत्र नं ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले सबै प्रकारका अतिबाट देश र जनताले मुक्ति खोजेको बताएका छन् । आइतबार कमल गाउंपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै तामाङले भने, ‘यदि देशमा कानुनी शासन पूर्ण रुपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेका साथीहरू जेलमा बस्नुपर्ने हुन्थ्यो ।’ तामाङले अतिवादी शक्तिहरूबाट मुलुकले कुनै हालतमा निकास नपाउने दाबी गरे । नेकपाका युवा नेता तामाङले भाद्र २३ गतेका कारक र भाद्र २४ गतेका कारक दुवैवाट जनता आजित भइसकेको दावी गरे । तामाङले मुलुकलाई सही, सन्तुलित र अग्रगामी विचार र नेतृत्व आवश्यक रहेको बताए । नेकपाको मूल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले क्षेत्रका चारवटै पालिका र वडामा चुनावी अभियान तिब्र पारिएको बताए । झापा– ५ मा तामाङसँगै एमालेबाट अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन, कांग्रेसबाट मन्धरा चिमरिया र राप्रपाबाट लक्ष्मीप्राद संग्रौला चुनावी मैदानमा छन् ।



