
बैतडी । बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आंशिक रूपमा अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडको बीच सडकमा ट्रक बिग्रिएपछि राजमार्ग अवरुद्ध भएको हो । बझाङदेखि नेपालगन्ज जाँदै गरेको बा ३ ख २५५६ नम्बरको ट्रक आज दिउँसो १ बजेको समयमा बिग्रिएपछी राजमार्ग आंशिक रुपमा अवरुद्ध बनेको हो । बीच सडकमा ट्रकको करङ भाँचिएर ट्रक बिग्रिएको हो । ठूला सवारीसाधन आवतजावत ठप्प रहेको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय सिंह खडायतले जानकारी दिनुभयो । साना जिप तथा मोटरसाइकल आवतजावत भने भइरहेका छ । सडक अवरुद्ध भएपछि बस तथा ट्रकहरू जाममा परेका छन् । सडक खुलाउनको लागि प्रयास भइरहेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।



