शहीदको सम्मानमा ३४ जनाले दिए आँखादानको सहमति

काठमाडौं । शहीदको सम्मान र सम्झनामा ३४ जनाले मृत्युपश्चात आँखादान गर्ने सहमति दिएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार विभिन्न संघसंस्थाहरूले आँखादान र रक्तदान गर्दै शहीदहरुप्रति सम्झना र सम्मान व्यक्त गरेका हुन् । लायन्स क्लब अफ काठमाडौं माछापोखरी, लायन्स क्लब अफ काठमाडौं भिजन सर्कल र पर्वत कुश्मा समाज गरी तीनवटा संस्थाको संयुक्त आयोजनामा तिलगंगा आँखा अस्पतालमा १३५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ । त्यसैगरी, ३४ जनाले आफ्नो मृत्युपश्चात आँखा अस्पताललाई दान दिनेगरी तिलगंगा प्रतिष्ठानलाई सहमति दिएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहभागीले मुलुकको परिवर्तन र मुक्तिका लागि शहीदहरूको बलिदानीको सम्मान तथा सम्झनास्वरुप गरिएको आँखादान र रक्तदानले नागरिक सेवामा सबैलाई समर्पित बन्न प्रेरणा दिएको बताए । जीवित छँदा नै मृत्युपछि आँखादान दिने स्वघोषणाले समाजमा अन्धकारमा बाँचिरहेका दृष्टिविहीनहरूले उज्यालो संसार पाउने तिलगंगा आँखा प्रतिष्ठानका मेन्टिनेन्स विज्ञ परशुराम बरालले बताए ।