
काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् । राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाइ छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उनले जोड दिए । आयोग आफैंले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ । सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए । तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनितिक पहुँचको रेखाभन्दा बाहिर रहेको उनले बताए । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उनले बताए । आयोगले यसका लागि जागरुकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले आयोगलाई दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरु विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न सुझाव दिए । ‘तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनितिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन् । तिनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन अति जरुरी छ । स्वास्थ्य बीमा कार्यक्रममा अर्थको अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन सकेका छैनन् । आयोगले यसका लागी जागरुकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्छ,’ उनले भने । उनले समाजमा अझै पनि विभिन्न कुरीति, विसंगति र भेद्भावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताए । दलितदलित बीचमा पनि विभिन्न विभेद् र छुवाछुतको अवस्था रहेको उनको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए । उनले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि आग्रह गरे ।



