![]()
बारा । सशस्त्र प्रहरी बल बाराले विशेष अपरेसन सञ्चालन गर्दै ५ लाख ५ हजार रुपैयाँ बराबरको पटका र मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. १२ गण हे बाराका गणपति खुमबहादुर केसीको निर्देशनमा भारतबाट भरियामार्फत चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सामानबारे विशेष सूचना प्राप्त भएपछि उपरीक्षक केसीको नेतृत्वमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। त्यसक्रममा आज बिहान आदर्शकोटवाल गाउँपालिका–३, भटिनियाँस्थित तेलकुवाँ नजिक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाँबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सञ्जय यादवको नेतृत्वमा रहेको ५ जनाको गस्ती टोलीले तीनवटा मोटरसाइकलमा पटका ल्याउँदै गरेका व्यक्तिहरूलाई देखेपछि रोक्न खोज्दा उनीहरू फरार भएका थिए। फरार हुने क्रममा टोलीले अन्दाजि २ लाख ५ हजार रुपैयाँ बराबरका नागिन पटका र करिब ३ लाख रुपैयाँ मूल्यका तीनवटा मोटरसाइकल, गरी कुल ५ लाख ५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका पटकाहरू सशस्त्र प्रहरी गणको परिधिभित्र पोखरीको पानीमा नष्ट गरिएको र मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बिपिन देसारले जानकारी दिए।


