पर्साको अमरपट्टीबाट ५ किलो गाँजासहित दुई युवक पक्राउ

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले आज दिउँसो करिब ३ः२० बजे ५ किलोग्राम गाँजा बरामद गरेको हो। नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजा मोटरसाइकलको सिटमुनि र चालकद्वयको शरीरभित्र लुकाइएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ का २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ का १९ वर्षीय गौत्तम पटेल रहेका छन्। उनीहरूको साथबाट गाँजासहित मोटरसाइकल, मोबाइल, घडी र नगद २२० रुपैयाँ समेत बरामद गरिएको छ। सशस्त्र प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाएको छ।