
वीरगञ्ज । भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगञ्ज महानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा सहज बनाउन विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ वीरगञ्ज इकाईले बुधवार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । सङ्घले सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अघि सारेको बताएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए । सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधी उत्पादक सङ्घले पुर्याएको सहयोग महानगरको पुनः सञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताए । उनले भने, ‘महानगरको दैनिक कामकाजलाई सहज बनाउन सङ्घले पुर्याएको सहयोग अत्यन्त महत्त्वपूर्ण छ । सङ्घप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र सङ्घबिच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु ।’त्यसैगरी सङ्घका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि नगरको पुनः निर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताए । उनले भने, ‘नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो ।’कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सङ्घका पदाधिकारी विनीत लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । औषधी उत्पादक सङ्घले गरेको सहयोगले महानगरको सेवा पुनः सञ्चालनको प्रयासमा थप गति मिल्ने र उद्योग–महानगरबिचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास महानगरले लिएको छ । यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री उपलब्ध गराएको थियो ।



