संविधानलाई नै टेकेर अन्तरिम सरकार गठन गराैं : जनार्दन शर्मा

, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानलाई नै टेकेर अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन् । परिस्थितिअनुसार जेनजीहरूले पनि अपनत्व गर्नेगरी अन्तरिम सरकार गठनको आवश्यकता उनले औंल्याएका छन् । यद्यपि संविधानलाई टेकेर नै अन्तरिम सरकार गठन गर्न आवश्यक रहेको उनले बताए । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ । परिस्थिति अनुसार को सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो सविधानका सबैधाराको अक्षरस पालना नहुन सक्छतर सबैलाई स्विकार्य सरकार गठन गर्दा समेत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ ।’साथै उनले  जेनजी पुस्ताको आन्दोलन दबाउन सरकारले दमन गरेको भन्दै आलोचना गरेका छन् । शर्माले भनेका छन्, ‘सत्तामा रहेका दलका नेताहरूको परिवारवाद र भ्रष्टाचारले नै यो अराजकता सिर्जना गरेको हो ।’ शर्माले तत्काल शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी भ्रष्टाचारको अन्त्य र राजनीतिक सुधारका लागि कडा कदम चाल्नुपर्ने बताएका छन् । ‘वर्तमान संकट सबै नागरिकका सरोकारको र जिम्मेवारीको विषय हो,’ भन्दै उनले वैधानिक बाटोबाट समाधान निकाल्न सबैलाई आह्वान गरेका छन् । भ्रष्टाचारको जालो अन्त्य गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने, उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार राजनीतिक पार्टीका नेताहरू र मुख्यरूपमा कांग्रेस–एमाले नेतृत्वको सरकारले लिनुपर्ने उनले भनेका छन् । वर्तमान संकटको समाधानका लागि पहल गर्ने सामथ्र्य र नैतिक आधार राजनितिक दलका शिर्ष नेताहरुले गुमाएको शर्माको निष्कर्ष छ । ‘सवैधानिक वल विहिन सरकार बनाउदा बर्तमान संविधानका फक्षधरहरुबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतिलाई समेत ध्यान दिन जरुरी छ । संविधान वाहिर सरकार गठन गरीएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भइ अकल्पनिय अवस्था सिर्जना हुने खतरा रहन्छ र बैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्ने वारे ध्यान दिन जरुरी छ,’ उनले भनेका छन् । संविधानको रक्षा गर्न नसके थप अराजकता पैदा हुने चिन्ता व्यक्त गर्दै उनले वैधानिक बाटोबाटै समाधान निकाल्न अपिल गरेका छन् । नेपाल अहिले सरकारविहीन अवस्थामा छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । सोमबार र मंगलबार भएको जेनजी युवाहरूको प्रदर्शनमा ३० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।आक्रोशित युवाहरूको समूहले सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय रहेको शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवास लगायत अन्य महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी गरेर ध्वस्त पारेका छन् ।