माओवादीको सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ । यसका लागि अध्यक्ष प्रचण्डले निर्देशन नै दिएका छन् । बिहीबार सम्पन्न केन्द्रीय समितिले पनि सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ । प्रचण्डले भनेका छन्, ‘अब केन्द्रीय समिति बनाउँदा या वडा समिति, पालिका समिति या प्रदेश बनाउँदा पनि हामीले युवाहरुलाई प्राथमिकता दिनेछौं, सहभागिता अनिवार्य हुनेछ ।’आफूले केही दिन अगाडि जेन्जी युवाहरुको प्रतिनिधि मण्डलसँग भेटघाट गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘उहाँहरुले कम्तीमा २५ प्रतिशत चाहियो सबै संरचनामा भन्नुभएको छ । केन्द्रीय समितिमै जेन्जीलाई यही चाहियो भन्नुभएको छ ।’‘प्रतिशतका हिसाबले के कति सकिन्छ, तर अधिकतम समेट्ने र सहभागिता अनिवार्य गर्ने नीति हामीले पास गर्‍यौं’ प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने ।यसअनुसारले खटिन केन्द्रीय सदस्यहरूलाई प्रचण्डको निर्देशन छ। ‘राष्ट्र संकटमा परेको छ र यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ’ प्रचण्डले भनेका छन्, ‘तपाईहरुले आफ्नो-आफ्नो एरिया भित्र, आफ्नो आफ्नो जिम्मेवारी भित्र, आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्‍यो। अलि गतिशील सक्रिय सक्षम जेन्जीहरुलाई संगठित गरेर तिनीहरुलाई अगाडि ल्याउने र युवाहरुलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नु पर्‍यो।प्रचण्डको जवाफसँगै केन्द्रीय समितिको बैठक सकिएको छ । प्रचण्डको प्रस्ताव परिमार्जन सहित पारित गर्दै सकिएको बैठकले बिभिन्न ६ वटा निर्णय गरेको छ । निर्णय नम्बर चारमा भनिएको छ, ‘जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्राथमिकता  दिने ।’केन्द्रीय कमिटीले आगामी मंसिरमा महाधिवेशन गर्ने समेत तय गरेको छ ।माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रतिवद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ’ साहले भने ।