
पोखरा । पोखराको पाताले छाँगो ४० वर्षलाई ठेक्कामा दिने विषयले लफडा भएको छ । पाताले छाँगोमा सिसाको पुलसहित संरचना निर्माण गर्न पोखरा महानगरले ४० वर्षका लागि सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झौता गरेको छ । सिसाको पुललगायत संरचना निर्माण गर्न जिम्मा पाएको कम्पनीले बिहीबार बिहान राखेको सार्वजनिक सुनुवाइ विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिएको थियो । यो विषय लम्बिँदै जाँदा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायतमाथि खुकुरी प्रहार भएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपीका अनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास पक्राउ परेका छन् भने पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो । हप्ता दिन अगाडि पनि सार्वजनिक सुनुवाइ बिथोलिएको थियो । बिहीबार ठेकेदार तथा महानगरका पक्ष र निर्माण गर्न दिन नहुने दुवै पक्षबाट ठूलो संख्यामा युवाहरू उपस्थित भएका थिए । कार्यक्रममा खुकुरीसहित युवाहरू उपस्थित भएको खुलेको छ । प्रहरीले खवासलाई खुकुरीसहित पक्राउ गरेको हो । कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीयले सिसाको पुल निर्माणको विपक्षमा नाराबाजी गरेका थिए भने कुनै पनि हालतमा योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए । विवाद बढ्दै गएपछि मेयर धनराज आचार्य कार्यक्रमस्थलबाट हिंडेका थिए । मेयरले जवाफ नदिई भागेको भन्दै नाराबाजी र विरोध गरेका थिए । ठेक्का पाएका सेती क्यानोनिङका सञ्चालक कर्केन गुरूङले आफूले लगानी गर्न लागेको, अदालतले पनि आफ्नो पक्षमा फैसला गरेको र स्थानीयको माग पनि सम्बोधन गर्ने बताउँदै कार्यक्रम समापन गरे पनि विवाद कायमै थियो । कार्यक्रम सकिइसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो । निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकको कार्यकालको अन्तिममा पातले छाँगो, मोरेखहरे घाट सहित सेती खोंच, रामघाट ३५ देखि ४० वर्षसम्मका लागि ‘सार्वजनिक निजी साझेदारी’ अन्तर्गत ‘सेती क्यानोनिङ प्रालि’ नामक निजी कम्पनीलाई दिने निर्णय गरेको थियो । ठेक्का पाएको कम्पनीले बिहीबार बिहान सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो । वर्तमान मेयर धनराज आचार्य नेतृत्वको १७औं कार्यपालिका बैठकले पुरानै निर्णय सदर गरेको थियो । १७औं कार्यपालिका बैठक ३ वैशाखमा बसेको थियो, तर महानगरले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निष्कर्ष निकालेको थियो । पाताले छाँगो एउटा कम्पनीलाई ४० वर्षका लागि सुम्पिन नहुने, महानगरले घाटा खाएर ठेक्का दिन लागेको भन्दै लामो समयदेखि विवाद हुँदै आएको छ । कार्यपालिकाको निर्णय अनुसार महानगरले सेती क्यानोनिङसँग १४ साउन २०७८ मा सम्झौता समेत गरेको थियो । सम्झौतापत्रमा तत्कालीन महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङका अध्यक्ष कर्केनकुमार गुरुङ छन् । गुरूङले ६५ करोड लगानी गर्ने सम्झौतामा छ । अहिलेसम्म पातले छाँगोको सम्पूर्ण आम्दानी छोरेपाटन माविले संकलन गर्दै आएको थियो । महानगरले गत सालदेखि आफैंले शुल्क उठाउँदै आएको छ र विद्यालयलाई ३ करोड महानगरले दिने बताएको छ । तर, स्वार्थ समूहसँग मिलेर घाटा खाएर पाताले छाँगो तथा पोखराकै सम्पदा व्यापारीलाई सुम्पिन लागेको भन्दै विरोध हुँदै आएको छ ।



