कार्यकर्ताहरूलाई चुनावको तयारीमा लाग्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रह

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको तयारीमा जुट्न पार्टीका तल्लो तहका समितिहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ गते निर्वाचन घोषणा गरेसँगै माओवादीले चुनावी रणनीति बनाउन थालेको हो ।पार्टीले औपचारिक रूपमा निर्वाचनमा जाने निर्णय नगरे पनि दाहालले सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूलाई सङ्गठन सुदृढीकरण र चुनावी तयारीमा केन्द्रित हुन आह्वान गरेका छन् । “निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो विकल्प भनेको तयारीमा जुट्नु हो,” दाहालको भनाइ उद्धृत गर्दै पार्टी स्रोतले जनाएको छ । उनले जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै बदलिँदो परिस्थितिमा सङ्गठनलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । माओवादीले काँग्रेस-एमाले गठबन्धन सरकारका कारण उत्पन्न राजनीतिक सङ्कटको समाधान निर्वाचनबाट मात्र सम्भव भएको ठहर गरेको छ । “संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न निर्वाचनलाई सफल बनाउनुपर्छ,” दाहालले भने । यसका लागि माओवादीले आन्तरिक गृहकार्य तीव्र बनाएको छ ।आगामी केन्द्रीय पदाधिकारी बैठकले निर्वाचनमा सहभागी हुने विषयमा औपचारिक निर्णय गर्ने तयारी छ । सचिव देवेन्द्र पौडेलले भने, “निर्वाचन घोषणा भइसकेकाले हामी तयारीमा जुटेका छौँ ।” यद्यपि, आठ दलले विघटित संसद् पुन:स्थापनाको माग राखे पनि माओवादीले निर्वाचनलाई नै प्राथमिकता दिने अनौपचारिक निष्कर्ष निकालेको छ ।वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा र सचिव राम कार्कीलगायत नेताहरूले चुनावी सरकारलाई सघाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले अन्तरिम सरकारसँग निष्पक्ष र उपयुक्त वातावरणमा निर्वाचन गराउन आग्रहसमेत गरेका छन् ।यसैबिच, माओवादीको मध्य पहाडी राजमार्ग अभियान जेन-जी विद्रोहका कारण स्थगित भएको थियो । तर, अहिले दाहालसहितका नेताहरू दैनिक राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् । माओवादीले सङ्गठनलाई चुस्त बनाउँदै निर्वाचनमा बलियो उपस्थिति जनाउने रणनीति बनाइरहेको छ ।