![]()
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण समारोहमा उनले यो निर्णयलाई आफ्नो पहिलो कदमका रूपमा अघि सारेका हुन् । समारोहमा मन्त्री घिसिङले आफूलाई स्वागतका लागि खादा, माला वा अबिर केही पनि नलिन आग्रह गरे । यसबाट उनले काममै केन्द्रित हुने सन्देश दिएको टिप्पणी गरिएको छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा रहँदा पनि घिसिङले बक्यौता उठाउने अभियानलाई प्राथमिकतामा राखेका थिए । त्यतिबेला उद्योगहरूलाई बक्यौता तिर्न दबाब दिँदै लाइन काटेपछि उनको सरकारसँग विवाद भएको र अन्ततः पदबाट हटाइएकामा चर्चा छ । अब मन्त्रीको जिम्मेवारीमा रहँदै उनले सो निर्णयलाई कसरी कार्यान्वयन गर्छन् भन्ने उत्सुकता बढेको छ । तर सुरुवाती कदमले भने ऊर्जा क्षेत्रमा सुधार ल्याउन उनको प्रतिबद्धता देखाएको मानिएको छ ।


