सहकर्मीमाथि कुटपिटको विरोधमा बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा

काठमाडौं । सहकर्मीमाथि कुटपिटको विरोधमा धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्ना बसेका छन् । गत साउन २३ गते बटेश्वर गाउँपालिका-५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भएपनि दोषीमाथि कारबाही नभएको भन्द‌ै गत सोमबारदेखि कामकाज ठप्प गरेर धर्ना बसेका हुन् । स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको आरोप कर्मचारीहरूको छ । शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महतोका अनुसार घटना पश्चात् जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा दोषीहरूलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी समेत परेपनि दर्ता नभएको र कारबाही नगरिएको भन्दै धर्ना बस्नु परेको कर्मचारीहरूको भनाइ छ । तीन बुँदे माग राख्दै गाउँपालिकाका सर्म्पूण स्वास्थ्यका कर्मचारी गत सोमबारदेखि हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र भयरहित वातावरणमा काम गर्न पाउ माग गर्दै शान्तिपुर स्वास्थ्यचौकीमा धर्ना बस्दै आएका छन् । शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज महतोका अनुसार वास्थ्य चौकीको मुल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा आरोपितहरूले हातपात गरेका थिए ।