
रौतहट । चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले आफुलाई पत्रकार भनेर चिनाउने अभिमन्यु पटेलले आफुसँग ३ लाख मागेको दावी गरेका छन् । पटेलले निरन्तर आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट र टिकटक एकाउन्ट मार्फत साहको चरित्रहत्याको गरिरहेका छन् । यसअघि पटेलले साहकी श्रीमती रोशनी कुमारी साहको एउटा भिडियो आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत एकाउन्टमा हालेका थिए । सो भिडियो हालेपश्चात आफुले पटेललाई फोन गरेर एकतर्फी भिडियो नहाल्न भन्दै घटनाको वास्तविकता भनेको कुरा रेकर्ड गरेर मंगलबार सामाजिक सञ्जालमा हालेको साहको गुनासो छ । उनले पटेलले आफुसँग बारम्बार पैसा माग्ने गरेको सो नदिए वापत आफ्नो बदनाम गर्ने एक सुत्रिय अभियानमा लागेको दावी गरे ।
हामीलाई प्राप्त साह र पटेल बीचको फेसबुक म्यासेन्जरमा भएको कुराकानीमामा पटेलले ३ लाख रुपैया मागेको प्रष्टै बुझिन्छ । उनले सो कुराकानीमा भनेका छन्, ‘ केही खर्च ३ लाख छोडेर जानु । बाँकी के गर्ने हो म भन्छुँ ।’ सो कुराकानीमा पटेलले साहसँग बारम्बार आफुलाई भेट्न भनेको र फोन , एसएमएसको रिप्लाई नदिएको गुनासो पनि गरेका छन् । उनले आफु चपुर आएको र भेट हुनसक्छ कि भनेर साहसँग सोधेका छन् । उनले कुराकानीकै सिलसिलामा आफु साहलाई भेट्न दिनभर चपुरमा बसेको तर साहको फोन स्विच अफ भएपछि राती ९ बजे गौर फर्किएको जिकीर गरेका छन् ।
यसरी पटेललाई आफुले मागेको ३ लाख नदिएपछि जसरी हुन्छ बदनाम गर्ने उद्देश्यले विभिन्न हर्कत गर्ने गरेको साहको आरोप छ । ‘म सामान्य कर्मचारी कसरी ३ लाख दिनसक्छुँ’ उनले भने, ‘म आफै पिडित छुँ । न्यायको लागि न्यायलयको ढोका ढक्ढकाइरहेको छुँ । बिना गल्ती म उसलाई किन दिनु त्यत्रो पैसा?’ उनले आफु कुनै पनि काममा गलत नभएको बरु श्रीमतीबाट उल्टै पिडित भएकाले नियोजित ढंगले श्रीमती र उनको माइती पक्षसँग मिलेर आफुसँग पैसाको बार्गेङिग गरेको र आफु बार्गेङिगमा नझुकेपछि बदनाम गरेको बताए । उनले आफु पटेलले आफुलाई दिएको मानसिक यातना , अनावश्यक बदनामी र बार्गेङिग विरुद्ध न्यायको लडाइ लड्ने पनि बताउँदै पत्रकारको नाममा सिंगो पत्रकारितालाई बदनाम गर्ने पटेललाई कारवाही हुनुपर्ने माग गरेका छन् ।
अभिमन्यु पटेल रौतहटको विवादित पत्रकारमा पर्छन् । उनले विशेषगरी मुस्लिम समुदायलाई होच्याएर बिना आधार प्रमाणका स्टाटस तथा भिडियो, फोटो आफ्नो फेसबुक एकाउन्टबाट सेयर गर्ने गरेका छन् । उनले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाई पालिकाबाट योजना तथा पैसा माग्ने नदिए आफ्नो सामाजिक सञ्जालमा जथाभाबी लेख्ने गरेको भन्दै केही सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा प्रमाण सहित उनको पोल खोलेका थिए । यसरी पत्रकार बनेर अनावश्यक कानुन विपरित हर्कत गरे पत्रकारिताको इज्जत माटोमा मिलाउने विरुद्ध नेपाल पत्रकार महासंघ र पत्रकार जगत कडा हुनुपर्ने स्थानीय सर्वसाधरणको माग रहेको छ ।



