घारमा सुलसुलेको संक्रमणले मौरी मर्न थाले

चितवन। पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो । रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उनले भने ‘मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन्।’ अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उनले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताए । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार रिमालको फार्ममा रहेका चारवटा घारमा सुलसुलेको सङ्क्रमण देखिएको हो । उनले ती घारमा देखिएको सुलसुले एकराइन प्रजातिको भएको बताउँदै उनले भने, ‘एकराइनको सङ्क्रमणले मौरीको श्वासनलीमा असर गर्दछ।’ यसको सङ्क्रमणबाट मौरी उड्न नसक्ने, कमजोर भएर पखेटालाई ‘के’ आकारको फिजाएर बस्ने गर्दछ । यो सुलसुलेले मौरीको भित्री भागको रस चुसेर कमजोर बनाउने उहाँले जानकारी दिए । उनले भनरे, ‘यो सुलसुलेले पक्षघातको लक्षण उस्तै देखिने भएकाले छुट्याउन कठिन हुने छ।’ जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईंले मौरीमा सुलसुलेको सङ्क्रमण र लक्षण देखिने वित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताए । यो सङ्क्रमण नाङ्गो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि सङ्क्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उनले उल्लेख गरे । हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईंले बताए । उनका अनुसार जिल्लामा वार्षिक रूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उहाँले जानकारी दिए ।