
वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज दिउँसो पर्सा जिल्लाको वीरगञ्ज पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर रहेका एकजना अन्दाजी ३५ वर्षीय पुरुषको उद्धार गरेको छ। आफ्नो नाम र ठेगाना प्रष्ट रूपमा बताउन नसक्ने ती व्यक्तिलाई मंगलबार दिउँसो १२:४५ बजे उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज लगिएको हो। उद्धारपछि आश्रममा लगेपछि उहाँको सरसफाइ, नुहाउने र कपडा परिवर्तन गराउने कार्य गरिएको छ भने डाक्टर भरत गोईज्यूको निगरानीमा औषधोपचार प्रक्रिया सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ। उक्त उद्धार कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालयका बरिष्ठ हवल्दार दिनेश यादव, तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो। मानवसेवा आश्रमले सडकमा अलपत्र, मानसिक असन्तुलन वा शारीरिक रूपमा अशक्त अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गर्दै पुनर्स्थापनाको कार्य गर्दै आएको छ। आश्रमको यो कार्यले समाजमा मानवता र सहयोगको भावना अझ सुदृढ हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।



