वीरगञ्ज कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज कलेजले कक्षा ११ मा हालै भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार एपेक्स म्यानेजमेन्ट कलेजको सभा हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय भन्दा बढी नयाँ विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वीरगञ्ज कलेज सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम उपस्थित थिए । प्रमुख अतिथि गौतमले कलेजको ‘कमाउँदै पढ्ने’ अवधारणालाई प्रेरणादायी भन्दै विद्यार्थीहरूलाई सही शैक्षिक गन्तव्य छनोट गरेकोमा बधाई दिए । उनले कलेजको शैक्षिक गुणस्तर, अनुशासन, ऐतिहासिक पृष्ठभूमि र भविष्यका योजनाहरूबारे प्रकाश पारे । कार्यक्रममा विषयगत शिक्षकहरूले कलेजको शैक्षिक प्रणाली, मूल्याङ्कन पद्धति, अतिरिक्त क्रियाकलाप, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्षा, ई–लर्निङ सुविधा र खेलकुदका अवसरहरूबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी प्रदान गरे । कलेजका प्रशासन प्रमुख सुरेश चौधरी, परीक्षा संयोजक डिके जयसवाल र सहायक क्याम्पस प्रमुख रुदल ठाकुरले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचको महत्त्वबारे प्रेरित गरेका थिए । उनीहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रामा उत्कृष्टता हासिल गर्न प्रोत्साहन दिए । कार्यक्रममा विद्यार्थीहरूलाई स्वागत स्वरूप खादा ओढाएर सम्मान गरिएको थियो । स्वागत मन्तव्य बीबीएसकी विद्यार्थी सुनिता साहले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए ।  अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अवसरहरू र अपेक्षाहरूबारे स्पष्ट दृष्टिकोण प्रदान गरेको छ ।