बीरगञ्ज सडक विस्तारको विरोधमा शुक्रबार बजार बन्द

बीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तार गर्न थालेपछि त्यस क्षेत्रमा पर्ने संरचना हटाउने कार्यको विरोधमा घरधनीहरूले शुक्रबार बिहान ११ बजेसम्म बजार बन्दको आह्वान गरेका छन्। बीरगञ्ज बचाउ संघर्ष समिति र बीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको बिहीबार राणीसती धर्मशालामा बसेको बैठकले बीरगञ्ज महानगरको ‘असवैधानिक रुपमा’ अगाडि बढिरहेको भनिएको तोडफोडविरुद्ध विरोधस्वरूप बजार बन्द गर्ने निर्णय गरेको हो। साथै मेनरोडका सबै घरमा कालो झण्डा राखेर विरोध जनाउने निर्णयसमेत गरिएको संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले जानकारी दिए। संघर्ष समितिका अनुसार, घरधनीहरूले यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने काम तत्काल रोक्न माग गरेका थिए। उनीहरूको भनाइमा महानगरले क्षेत्राधिकार बाहिर गएर घरटहरा भत्काइरहेकाले यो कार्य अविलम्ब रोक्नुपर्नेछ। यता, बीरगञ्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सोमबारदेखि भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरिएको स्पष्ट पारेको छ। महानगरले सडक क्षेत्रभित्रका संरचनाहरू डोजर प्रयोग गरेर हटाइरहेको छ। स्थानीयवासी र व्यापारीहरू सडक विस्तारको नाममा भएको संरचना भत्काउने कार्यप्रति आक्रोशित छन्। उनीहरूले कानुनी प्रक्रिया बिना जबर्जस्ती हटाउने काम भएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।